
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरि बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन खुला गरेको हो।
आइपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।